टिकापुर भीडन्तः एसएसपीसहित १७ प्रहरी, ३ सर्वसाधारणको मृत्यु
- नेपाल टेलिभिजन
- Aug 24, 2015
- 1 min read
धनगढी भदौ ७ । कैलालीको टीकापुरमा थरुहटको माग राख्दै सडकमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एसएसपीसहित १७ प्रहरी, ३ सर्वसाधारणको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले नेपाल टेलिभिजनलाई बताएका छन् । । मृत्यु हुनेमा नेपाल प्रहरीका ११ जना, सशस्त्र प्रहरीका ६ जना रहेका छन् । एसएसपी लक्ष्मण न्यौपाने, इन्सपेक्टर बलराम विष्ट, केशब बोहरा, प्रहरी हवल्दार रामबिहारी चौधरी, प्रहरी जवान लोकेन्द्र चन्दलगायतको मृत्यु भएको छ । थप केही प्रहरी सम्पर्कमा नआएको बताइएको छ भने आन्दोलनकारीहरुका तर्फबाट समेत केहीको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले नेपाल टेलिभिजनलाई बताए अनुसार, प्रदर्शनकारी धेरै क्षेत्रबाट आएकोले प्रहरीलाई छरिएर नियन्त्रण गर्नु परेको थियो । प्रदर्शनकारीहरुले संयमतापूर्वक प्रदर्शन गर्ने सहमति तोडेको प्रजिअले बताए ।

कैलालीमा सञ्चार सम्पर्क अस्तव्यस्त रहेकोले सम्पर्क हुन सकिरहेको छैन । प्रदर्शनकारीले प्रहरीमाथि घरेलु हतियार भाला, बञ्चरो आदिले प्रहार गरेका थिए । आन्दोलनकारीले केही सुरक्षाकर्मीलाई आगो लगाएर हत्या गरेका छन्।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेर प्रदर्शनकारीहरु अगाडि बढेपछि दुबै पक्षबीच भीडन्त भएको थियो ।


विभिन्न गाउँबाट ठूलो सङ्ख्यामा आएका थरुहटका कार्यकर्ताले लाठी, भाला र ढुङ्गा प्रहार गर्दै निषेधाज्ञा तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन टीकापुरसँगै जोडिएको मुनुवा क्षेत्रमा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारीले प्रतिरोध गरेका थिए ।
Comments