विद्या भण्डारी राष्ट्रपतिमा बहुमतले विजयी भएको घोषणा
- सेतोपाटी संवाददाता काठमाडौं, कात्तिक ११
- Oct 29, 2015
- 1 min read

एमाले नेतृ विद्यादेवि भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा बहुमतले विजयी भएकी छन्। बुधबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ५९७ मध्ये ५ सय ४९ मत खसेको थियो। उनले खसेको मतको ३२७ मत पाइन्। संविधानसभा भवनमा बुधबार विहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म मतदान भएकामा ४७ जना सांसद् अनुपस्थित भएका थिए। यस्तै निर्वाचनमा कांग्रेसका उम्मेद्वार कुलबहादुर गुरूङले २१४ मत पाएका छन्। ८ मत बद्दर भएको थियो।
पाँच बजे बोलाइएको संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेकी छन्।नयाँ संविधानको धारा २९७ को उपधारा ३ बमोजिम उनी नयाँ राष्टपतिमा निर्वाचित भएकी हुन्।
भण्डारी एमालेसहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेकी थिइन्।उनको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजय गच्छदारलगायत छन्।
एमाओवादीसहित सत्ता गठबन्धनमा सहभागी सबै दलको सहमतिमा उम्मेदवारी तय गरिएको र आन्दोलनमा रहेका मधेसी मोर्चाले मतदान बहिष्कार गर्ने निर्णय गरिसकेकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने लगभग निश्चित थियो
Comments