थरुहट बन्द १६ गतेसम्म लम्बियो
- सोमबार ७ भाद्र
- Aug 24, 2015
- 1 min read
दाङ- पश्चिम तराईमा लगातार १३ दिनदेखि बन्द गरेर आन्दोलनमा रहेको थारुवान/थरुहट संयुक्त संघर्ष समितिले बन्द लम्ब्याएको जनाएको छ। संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारुकल्याणकारीणी सभाका केन्द्रीय अध्यक्ष धनीराम चौधरीले आगामी १६ गते सम्म बन्द लम्ब्याइएको जानकारी दिए।
आफूहरुसँग सरकारले वार्ताको प्रयास नथालेकाले थप दवाव आवश्यक रहेको उनले बताए। 'हामीहरुले आन्दोलनलाई १६ गतेसम्म लम्ब्याउने निर्णय गरेका छौं,' उनले भने, 'सरकारले वार्ताको कुनै प्रयास नगरेकाले थप दबाब आवश्यक भयो।' आइतबार बसेको संघर्ष समितिको बैठकले थप दवावका लागि भन्दै बन्द लम्ब्याउने निर्णय गरेको उनले बताए।

थारु बाहूल्यता भएका नवलपरासीदेखि कञ्चनपुर सम्मका जिल्लालाई एउटै (थरुहट) प्रदेशमा राखिनुपर्ने भन्दै थरुहट आन्दोलन २७ साउनदेखि चलिरहेको छ। सात प्रदेशसहितको सीमांकनले थारुहरुलाई विभाजित गरेको भन्दै उनले आफूहरुको आन्दोलन थारुहरुको पहिचानका लागि भएको समेत बताए। बन्दको १३औं दिन सोमबार पनि दाङ लगाएत पश्चिम तराईको जनजीवन प्रभावित बनेको छ। यातायातका साधन ठप्प छन् भने बजार पनि खुलेका छैनन्।
Comments