भुइँ स्याउको व्यावसायिक खेती फस्टाउँदैैै
- Aug 24, 2015
- 2 min read

भदौ ६ गते । बहुउपयोगी भुइँ स्याउको माग बढ्न थालेपछि बागलुङका किसान व्यावसायिक खेतीतर्फ लागेका छन् । थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएपछि भुइँ स्याउको व्यावसायिक खेतीतर्फ लागेका ह्ुन् ।
केही अघिसम्म थाहै नभएको भुइँ स्याउको उपयोगिताका बारेमा जानकारी भएपछि बागलुङका दर्जनौँ किसानले यसको व्यावसायिक खेती गरिरहेको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । भुइँ स्याउलाई विभिन्न रोगका बिरामीले औषधिका रूपमा, होटल व्यवसायीले सलादका रूपमा प्रयोग गर्ने प्रचलन बढेपछि यसको व्यावसायिक खेती सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय बागलुङका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले बताउनुभयो । उहाँका अनुसार बागलुङका भकुन्डे, ग्वालीचौर, तङ्ग्रामलगायतका गाविसमा यसको खेती गरिएको छ । भुइँ स्याउलाई मधुमेह, मोटोपन, उच्च रक्तचाप, मिर्गौलाको समस्या, हेपाटाइटिस, जन्डिस, क्यान्सर, एलर्जीलगायतका रोगहरूको औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ । भुइँ स्याउ एक हजार पाँच सयदेखि तीन हजार मिटरसम्मको उच्च भू–भागमा अति राम्रो फल्ने भएकाले तिनै क्षेत्रलाई लक्षित गरी सम्भावित ठाउँमा व्यावसायिक खेतीमा किसानलाई प्रोत्साहन गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । दुई वर्षअघि जिल्लामै पहिलोपटक अमरभूमि गाविसमा लगाइएको भुइँ स्याउले राम्रो उत्पादन दिन थालेपछि बागलुङका अन्य क्षेत्रका किसान समेत उत्साहित भएका थिए । भुइँ स्याउको बीउप्रति किलोग्राम पाँच सय रुपियाँ र दाना प्रतिकिलोग्राम दुई सय रुपियाँसम्ममा बिक्री हुने भुइँ स्याउको बजार राम्रो भएकाले यसैबाट आम्दानी गर्न सकिने अमरभूमिका किसान होमलाल पुनले बताउनुभयो । हामीले सामुदायिक वनहरूलाई कसरी व्यावसायिक बनाउन सकिन्छ भन्ने उद्देश्यले सम्भाव्यता अध्ययनसमेत गरिरहेका छौँ, परीक्षणका रूपमा प्रयोग भएका ठाउँमा राम्रो उत्पादन दिएपछि अब यसको व्यावसायिक खेतीमा लाग्छौँ, लामिछानेले भन्नुभयो । खेती सुरु गरिएको नौ महिनामै फल्न सुरु गर्ने, एउटै बोटबाट पाँच केजीसम्म स्याउ उत्पादन गर्न सकिने भएकाले पनि यसको खेतीबाट किसानको आय आर्जनमा राम्रो सहयोग पुग्ने किसान पुनले बताउनुभयो । भुइँ स्याउमा फलाम, क्याल्सियम, सोडियम, पोटासियम, क्लोरिन, म्याग्नेसियम, भिटामिन ‘बी’ १, २ र ग्लुकोजको मात्रा पार्याप्त हुने भएकाले स्वास्थ्यमा फाइदा गर्ने बताइएको छ । भुइँ स्याउको पातबाट हर्बल चिया, फलबाट जुस, ड्रिङ्क्स, कन्फेक्सनरी, स्न्याक्स, कुलुनरी, सिपर, ब्रान्डी रक्सीसमेत उत्पादन हुने भएकाले बजारको समस्या नरहको किसानले बताएका छन् । चैत वैशाखमा बीउ लगाएपछि दुई–तीन पटक गोडभेल गर्नेबाहेक अन्य दुःख गर्नु नपर्ने भएकाले यो खेतीबाट किसानले मनग्य आम्दानी लिन सक्ने भकुण्डेका किसान टीकाबहादुर थापाले बताउनुभयो । एउटा बोटबाट पाँच केजीदेखि १० केजीसम्म फल्ने भएकाले पनि यसबाट राम्रो आम्दानी गर्न सकिन्छ, थापाले भन्नुभयो ।
























Comments