रौतहटमा कर्फ्यू पछि हिंसात्मक विरोध
- Nepali onlinekhaber
- Aug 25, 2015
- 1 min read
८ भदौ, गौर । जिल्ला सुरक्षा समिति रौतहटले मंगलबारदेखि सेना परिचालन गर्न नेपाली सेनाको श्रीबक्स गुल्म पुरेनवालाई पत्राचार गरेको छ ।
जिल्ला सुरक्षा समितिको पत्र आफूहरुलाई प्राप्त भएको र सोहीअनुसार आफूहरु तयार रहेको श्रीबक्स गुल्म पुरेनवाले जनाएको छ । जिल्लाको स्थितिलाई आफूहरुले निगरानी गरिरहेको र सेना तयारी अवस्थामा रहेको गुल्मपति सेनानी संजीव भण्डारीले बताए ।

सोमवार अबेर साँझसम्म पनि रौतहट सदरमुकाम गौरको अवस्था सामान्य नभएपछि राति १० बजे स्थानीय प्रशासनले रौतहटलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो । गएराति बसेको सुरक्षा समितिको बैठकले गौरमा रहेको नेपाली सेनाको गणलाई लिखितरुपमै सुरक्षा जिम्मा लिन पत्राचार गरेको हो । सोमबार बेलुका प्रशासनले कर्फ्यू लगाएको घोषणा गरे पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडप अबेर साँझसम्म चलेको थियो ।
कर्फ्यू जारी रहेकैबेला सुरक्षाकर्मीलाई अश्रुग्यास प्रहार गरेको भन्दै प्रदर्शनकारीहरुले बा ३ च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएका थिए ।

सोमबार दिउँसो प्रदर्शनकारी र प्रहरीबीच झडप भएको घटनालाई मध्यनजर गर्दै अति नै संवेदनशील मानिएको गौर नगरपालिका क्षेत्रसँगै गौर-चन्द्रनिगाहपुर सडकखण्डको ४२ किलोमिटर दायाँ-बायाँ एक किलोमिटर क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिएका छन् ।

जसअन्तर्गत गौर-चपुर सडकखण्डको सहायक राजमार्गमा जोडिएको संवेदनशील बजारहरु गरुडा, शिवनगर, सुकदेवचौक, भेडीयाही, झुन्खुन्वालगायतका बजारहरुमा समेत दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
दंगाग्रस्त क्षेत्र घोषणा गरेपछि स्थानीय प्रशासनले गौर नगरपालिका क्षेत्र भित्र ५ जनाभन्दा बढी व्यक्तिलाई सँगै घुम्नमा बन्देज लगाएको छ । सार्वजनिक सुरक्षा ऐन २०४६ अन्तर्गत नजरबन्द गरेर राख्ने, शंकास्पद व्यक्तिलाई विना पक्राउपूर्जी नियन्त्रणमा लिने, कुनै सार्वजनिक क्षेत्रमा हुलदंगा, आगजनी, तोडफोड, सभा गरेको देख्ने वित्तिकै प्रशासनले गोली समेत हान्ने लगायतका अधिकार सुरक्षाकर्मीलाई प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी भुजेलले जानकारी दिए ।
Comments