भदौ १४ र १५ लिम्बुवानको आमहड्ताल
- समता
- Sep 1, 2015
- 2 min read

अन्नपूर्ण पोस्ट तस्बिर: लिम्बुवान पार्टीले गरेको दुर्इ दिने बन्दमा आइतबार धरानको भानुचोकमा अलपत्र परेका यात्रु
धरान, १५ भदौ । सङ्घीय संविधानभित्र लिम्बुवान स्वायत्त राज्यको माग गर्दै सङ्घीय लिम्बुवान पार्टी नेपालले सोमबार र मङ्गलबार लिम्बुवान बन्दको आह्वान गरेको छ ।
दुई दिने आमहड्तालपछि पनि कुनै सुनुवाइ नभए अनिश्चितकालिन रूपमा लिम्बुवान क्षेत्र ठप्प पार्ने पार्टीले चेतावनी दिएको छ ।
मस्यौदा संविधान र सात प्रदेशको खाकाले लिम्बुवान नसमेटिएको भन्दै पार्टीले आमहड्ताल घोषणा गर्नुपरेको अध्यक्ष कुमार लिङ्देनले जनाए । उनले लिम्बुवानको ऐतिहासिकतालाई लत्याएर ल्याएको संविधान कुनै हालतमा स्वीकार नगर्ने समेत बताए ।
‘लालमोहर सन्धीदेखि ०६४ फागुन १८ र चैत ६ गतेको पाँच बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ,’ अध्यक्ष लिङ्देनले भने ।
उनले पश्चिममा कर्णालीको मागलाई हप्ता दिनभित्रै सम्बोधन गरेको तर दशकौंदेखि आन्दोलित हुँदा आफूहरूलाई बेवास्ता गरिएकोमा आक्रोश पोखे ।
लिङ्देनले आफूहरू अहिलेसम्म संयमित भएर प्रस्तुत भएको भन्दै राज्यले पूर्वसहमति कार्यान्वयन नगरे ०६४ सालझैं अनिश्चितकालिन बन्दका कार्यक्रम लिएर सडक कब्जा गर्ने चेतावनी दिए ।

उनले भने, ‘अहिले त शान्तिपूर्ण सभा, मार्चपास, जुलुससम्म गरिराखेका छौं, मागप्रति बेवास्ता गरे गाउँ सहर सबै कब्जा गर्नेछौं ।’
यसै क्रममा बन्दको पूर्वसन्ध्यामा आइतबार अरूण–सप्तकोशीपूर्वका नौ जिल्लामा राँके जुलुससमेत निस्किएको छ ।
राँके जुलुस सुनसरीको धरान, इटहरी, भरौल, मोरङको बेलबारी, पथरी, उर्लाबारी, झापाको दमक, बिर्तामोड, काँकडभिट्टामा निस्किएको सचिवालय सदस्य केदार धिमालले बताए ।
त्यसैगरी, व्यापक जनसहभागितामा इलाम, पाँचथरको फिदिम, ताप्लेजुङका फुङलिङ, तेह्रथुमको म्याङलुङ, संखुवासभाको खाँदबारी र धनकुटामा समेत मशाल जुलुस निस्किएको उनले जानकारी गरे ।
घोषित दुई दिने आमहड्ताललाई लिम्बु विद्यार्थी मञ्चले समेत ऐक्यबद्धता जनाउँदै भौतिक रूपमा सहभागिता जनाउन सबै मातहतका सङ्गठनहरूलाई निर्देशन दिएको छ ।
उपाध्यक्ष विशाल आङदेम्बे र सचिव अमित थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत ऐतिहासिक शासकीय पृष्ठभूमि र शासकीय निरन्तरतालाई मूल आधार बनाएर लिम्बुवान स्वायत्त राज्य सुनिश्चित गर्न माग गरेका छन् ।
त्यस्तै, याक्थुङ चुम्लुङ सुनसरी, कियाचु धरान र लिम्बू पत्रकार सङ्घ सुनसरीले समेत आन्दोलनमा ऐक्यबद्धता जाहेर गरेका छन् ।

हस्ताक्षर सङ्कलन सुरु, एसएमएस बाँकी
यसै क्रममा ‘लिम्बुवान अकुपाइ’को छैटौं दिन आइतबार धरानमा लिम्बुवान स्वायत्तताको पक्षमा बृहत् हस्ताक्षर सङ्कलन कार्यक्रम सुरु भएको छ ।
लिम्बुवान सङ्घर्ष समिति सुनसरीले थालेको अभियानले पचासौं हजारको हस्ताक्षर जम्मा गर्ने लक्ष्य लिएको याक्थुङ चुम्लुङ सुनसरीकी अध्यक्ष सङ्गीता सुब्बाले बताइन् ।
अकुपाइको सातौं दिन लिम्बुवान प्रदेश स्थापनाका लागि एस्एम्एस् अभियान सञ्चालन हुने सुब्बाले जनाइन् ।
अभियानअन्तर्गत संविधानसभामा लिम्बु समुदायको प्रतिनिधित्व गर्ने १५ सभासद्सहित शीर्षस्थ नेताहरूमा दबाब सिर्जना गर्न सन्देश पुर्याइनेछ ।
Comments